FAQs Complain Problems

जीतपुरसिमरा उपमहानगरलाई चिनिया बैंकको साथ

सिमरा, १६ फाल्गुन : जीतपुरसिमरा उपमहानगरको पूर्वाधार निर्माणका लागि चिनको एशियन ईन्फास्ट्रक्चर डेभ्लभमेन्ट बैंकले लगानी गर्ने भएको छ । 
अर्बान ईन्फास्ट्रक्चर डेभ्लभमेन्ट प्रोजेक्ट अन्तर्गत बैंकले उपमहानगरको सडक, पुल, आयस्रोतको पूर्वाधारका निर्माणका लागि झण्डै दुई अर्ब लगानी गर्ने भएको हो । उपमहानगरका नगर प्रमुख डा. कृष्ण पौडेलले काठमाण्डौस्थित शहरी बिकास बिभाग पुगेर केही महिनाअघि प्रोजेक्टका लागि पहल थालेका थिए । 
नगर प्रमुखको पहलपछि लगानी गर्न ईच्छुक देखिएको चिनिया बैंकको टोली बुधवार जीतपुरसिमरा आईपुगेको हो । टोलीले उपमहानगर शहरी र ग्रामीण भेगको निरिक्षण समेत गरेको छ । उपमहानगरका नगर प्रमुख डा. पौडेलले टोलीलाई निरिक्षण गराउदै उपमहानगरको अवस्था र सम्भावनाका बारेमा जानकारी गराएका थिए । 
टोलीमा बैंकको ईन्भेष्टमेन्ट अपरेशन स्पेसियलिष्ट साङमो किमको नेतृत्वमा आएको टोलीमा बैंकका प्रतिनिधि टासी टेन्जीङ, शहरी बिकास बिभागका बरिष्ठ ईन्जिनियर सरेन्द्रमोहन श्रेष्ठ, ईन्जिनियर बिश्वराम प्रजापती सहभागी थिए । निरिक्षणपछि आयोजित कार्यक्रममा टोलीका नेतृत्वकर्ता किमले पूर्वाधार निर्माणका लागि लगानी गर्न बैंक ईन्छुक रहेको भन्दै किमले उपमहानगरबासीलाई शुभकामना ब्यक्त गरेका थिए । 
शहरी बिभागका ईन्जिनियर श्रेष्ठले प्रोजेक्टको बारेमा उपमहानगरको कार्यपालिका सदस्यलाई जानकारी गराएका थिए । उपमहानगरमा ठुलो लगानी हुन लागेको भन्दै श्रेष्ठले यसबाट उपमहानगरको कमजोर अवस्थालाई सुधार गर्न केही सहयोग पुग्ने बताए । उपमहानगरभित्रको सडक सञ्जाल, पुल, आयस्रोतका निम्ति हाटबजार, बसपार्कलगायतका पूर्वाधार निर्माण गर्न सकिने भन्दै श्रेष्ठले पारदर्शीरुपमा प्रोजेक्टको काम सम्पन्न गर्न समेत आग्रह गरे । 
कार्यक्रममा बैंकका प्रतिनिधि टेन्जीङले उपमहानगरको निरिक्षण गर्दा धेरै सम्भावना देखेको भन्दै बैंकको लगानी नगरबासीले पाउने र उपमहानगरको अवस्था सुदृढ हुनेमा आफू बिश्वस्त रहेको बताए । उपमहानगरभित्र औद्योगिक करिडोर, अन्र्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटकिय क्षेत्रलगायत थुप्रै सम्भावना रहेकाले भबिष्यमा यो उपमहानगर देशकै नमुना बन्न सक्ने उनको भनाई थियो । 
कार्यक्रममा जीतपुरसिमराका नगर प्रमुख डा. पौडेलले समृद्ध उपमहानगरको अभियानमा अर्बान ईन्फास्ट्रक्चर डेभ्लभमेन्ट प्रोजेक्टको साथबाट अत्यन्त हर्षित भएको भन्दै बैंकका प्रतिनिधिलाई धन्यवाद ब्यक्त गरे । लगानी गर्न उत्साहित रहेको बैंकलाई निराश नपार्ने गरी पारदर्शी र दिर्घकालिन सोचसहित काम गर्ने प्रतिबद्धता उनले ब्यक्त गरेका छन् । जनसंख्या र भुगोलको हिसाबले मात्रै उपमहानगर बनेको जीतपुरसिमरामा दुई अर्बको लगानीबाट थुप्रै पूर्वाधार निर्माण गर्न सकिने उनको भनाई थियो । 
कार्यक्रममा बरिष्ठ ईन्जिनियर रामनरेश यादवले जीतपुरसिमराको अवस्था, सम्भावना र योजना बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी, कार्यपालिकाका सदस्य, कर्मचारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शाखा अधिकृत नविन लामाले गरेका थिए । यसअघि बैंकको टोलीलाई उपमहानगरको कार्यपालिका सदस्य र कर्मचारीले स्वागत गरेका थिए । 
 

लोकेशन