FAQs Complain Problems

जीतपुरसिमरा उपमहानगरका चार वटा वडा खुला दिसामुक्त घोषणा

जीतपुरसिमरा उपमहानगरका चार वटा वडा खुला दिसामुक्त घोषणा

जीतपुरसिमरा उपमहानगरपालिकाका चार वटा वडालाई आईतवार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । 
सिमरामा आयोजित एक कार्यक्रमका बिच उपमहानगरको वडा नम्बर १, २, ३ र ४ नम्बर वडालाई खुला दिसामुक्त वडा घोषणा गरिएको हो । चार वटै वडाका सबै घर र सार्वजनिक स्थानमा शौचालय निर्माण गरिएपछि बारा जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुल्ला दिसामुक्त वडा घोषणा गरेको हो । 
समितिले तयार पारेको घोषणा पत्र पढेर सुनाउदै प्रदेश २ का सदस्य सुन्दर बिश्वकर्माले चार वटा वडालाई खुला दिसामुक्त वडा घोषणा गर्नुभएको थियो । घोषणा सभामा बोल्दै बिश्वकर्माले स्वस्थ जनशक्ति बिकास र समृद्धिको आधार रहेको भन्दै उपमहानगरले स्वच्छ नगर निर्माणका लागि थालेको अभियानको प्रशंसा गर्नुभयो । बिश्वकर्माले स्थानिय तहको निर्वाचनपछि जीतपुरसिमरा उपमहानगरले बिकास निर्माण र समृद्धिको कामसंगै स्वच्छताको अभियान सञ्चालन गरेर सराहनिय कार्य गरेको बताउनुभयो । 
प्रदेश सभा सदस्य बिश्वकर्माले उपमहानगरभित्रका सबै वडामा यस्तो अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खुला दिसामुक्तको अभियानलाई अघि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङले खुला दिसामुक्त बनाउने उपमहानगरको अभियानलाई सहयोग गर्न नगरबासीलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सल्लाहकार विजयनारायण मानन्धरले उपमहानगरलाई स्वच्छ र खुल्ला दिसाुमक्त बनाउने अभियान अन्तर्गत पहिलो चरणमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको चार वटा वडालाई बधाई ज्ञापन गर्नुभएको थियो। सांगितिक प्रस्तुती समेत दिनुभएको प्रजिअ मानन्धरले खुल्ला दिसामुक्त जिल्लाको रुपमा अघि बढाउनका निम्ति सबै स्थानिय तहले यस्तो अभियानलाई अघि बढाउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख एवम् उपमहानगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष डा. कृष्ण पौडेलले खुला दिसामुक्त घोषणापछि चार वटा वडाका नगरबासीले पालना गर्नुपर्ने आचारसंहिता पढेर सुनाउनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले चैत्र मसान्तसम्म उपमहानगरका सबै वडालाई खुला दिसामुक्त वडा घोषणा गर्ने अभियानसहित अघि बढिरहेको बताउनुभयो । 
नगर प्रमुख डा. पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नगर उपप्रमुख सरस्वती चौधरीले स्वागत मन्तब्य राख्नुभएको  थियो। कार्यक्रममा प्रहरी उपरिक्षक राजकुमार बैदवार, सशस्त्र प्रहरी उपरिक्षक बेनुप्रसाद पाठक, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय बाराका प्रहरी उपरिक्षक उत्तम खनाल, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख सन्तोषकुमार श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिकाका सदस्य, नगर सभा सदस्य, समाजसेवी दिनेश राई, राजन पौडेल, कृष्ण खनाल, छविलाल शर्मा, जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति बाराका स्रोत व्यक्ती गोपिलाल भगत, अन्तराष्ट्रिय दातृनिकाय युएनह्याबिट्याटका जिल्ला संयोजक ईन्फो प्रतिनिधि अजयलाल नकर्मीलगायत विभिन्न संघसंस्था, टोलबिकास संस्था प्रतिनिधिको उपस्थिती रहेको थियो । 
कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राले सांगितिकि प्रस्तुती दिएका थिए । कार्यक्रममा उपमहानगरले खुला दिशामुक्तको अभियान सफल बनाउन सक्रिय कर्मचारी र सहयोगी संघसंस्थालाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण इन्फोका जिल्ला संयोजक केदार कोईरालाले गर्नुभएको थियो । 

लोकेशन