FAQs Complain Problems

मेयर डा. पौडेलद्धारा प्राविधिक शिक्षालय भवन शिलन्यास

जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले दक्ष जनशक्ति उत्पादनका निम्ति प्राविधिक शिक्षालयको बिकासमा जोड दिने बताउनु भएको छ । 
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टास्थित जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको कृषी प्राविधिक शिक्षालय भवनको आईतवार शिलन्यास गर्दै मेयर डा. पौडेलले आर्थिक सामाजिक रुपान्तरणको प्रमुख आधारको रुपमा प्राविधिक शिक्षालाई लिन सकिने बताउनु भयो । 
प्राविधिक शिक्षामार्फत उत्पादन हुने दक्ष जनशक्तिले रोजगारी, ब्यवसायसंगै सामाजिक बिकास र समृद्धिका निम्ति योगदान पुर्‍याउन सक्ने मेयर डा. पौडेलको भनाई थियो । पछिल्लो समय प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दै गएको भन्दै उनले यसको ब्यवस्थापनका निम्ति उपमहानगर सक्रिय भएर लागेको बताउनु भयो । 
जनता माध्यमिक विद्यालयमा करिब डेढ दशकअघि बाट सञ्चालित प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि उपमहानगरले यसै वर्ष नौ लाख बजेट बिनियोजन गरेको मेयर डा. पौडेलले बताउनु भयो । वडा नम्बर १४ ले चार लाख र उपमहानगरले पाँच लाख गरी नौ लाख बजेट प्राविधिक शिक्षालयको बिकासका निम्ति खर्चिएको भन्दै मेयर डा. पौडेलले उपमहानगरका अन्य स्थानमा पनि प्राविधिक शिक्षालय स्थापनाका निम्ति पहल भईरहेको जानकारी दिनुभयो । 
कार्यक्रममा वडाअध्यक्ष रामशरण बर्तौलाले उपमहानगरको प्रथम नगर सभाले प्राविधिक शिक्षालयलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो। प्राविधिक शिक्षालयको महत्व बुझेरनै उपमहानगर र वडाले यसको बिकासका निम्ति प्रयास थालेको बर्तौलाको भनाई छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र जमकटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनितिक दलका स्थानिय प्रतिनिधि, स्थानियबासी, शिक्षकलगायतको उपस्थिती रहेको थियो । 
जनता माध्यमिक विद्यालयले २०६९ सालदेखी प्राविधिक शिक्षाको सुरुवात गरेको थियो । प्राविधिक शिक्षातर्फ आकर्षण बढ्न थालेपछि विद्यालयले पूर्वाधार निर्माणको तयारी थालेको हो । कुल १७ लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भवन निर्माणको शिलन्यास गरिएको सहायक प्राचार्य राजु अधिकारीले जानकारी दिनुभयो । विद्यालयमा अहिले कृषीतर्फ एक सय २० छात्रछात्रा छन् ।

लोकेशन